Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

विवादका कारण विभिन्न स्थानीय तहमा मतगनना स्थगित

काठमाडौँ । ०७४ असोज ३ गते

मतगणनाका क्रममा सिरहाका दुई र रौतहटको एउटा स्थानीय तहमा सुरू भएको मतगणना असोज ३ गते दिउँसोदेखि स्थगित गरिएको छ ।

इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहाको लहान नगरपालिका र कर्जन्हा नगरपालिकाको मतगणना स्थगित गरिएको हो ।

लहान नगरपालिका-३ को मतगणनाको क्रममा नेपाली काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार केही मतले विजय भएपछि सङ्घीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि लहान नगरपालिकाको मतगणना कार्य आज दिउँसो १ बजेदेखि स्थगित गरिएको हो ।

लहान नगरपालिकाको सहायक निर्वाचन अधिकृत पवन गुप्ताका अनुसार विवाद मिलाउने प्रयास भइरहको र विवाद मिलेपछि चाँडै मतगणना सुरू गरिने छ ।

यस्तै कर्जन्हा नगरपालिकाको पनि केही समयदेखि मतगणना स्थगित भएको छ । कर्जन्हा नगरपालिका- ३ मा मतगणनाको क्रममा खसेको मतभन्दा बढी मत देखिएकोले एमालेको प्रतिनिधिले विरोध गरेपछि सो ठाउँको मतगणना स्थगित भएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीले दिएको जानकारी अनुसार खसेको मत १ हजार ३ सय ९ थियो भने मतगणना गर्ने क्रममा १ हजार ३ सय २२ मत फेला परेको हो ।

मतगणना अनुसार नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार कप्ले यादवले ३ सय ७७ मत ल्याएका छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश कोइरालाले ३ सय ७० मत ल्याएका छन् । नेकपा एमालेका नेता कल्याणी ढुङ्गानाले बढी भएको मतको बारेमा निर्णय नभएसम्म मतगणना नमान्ने जनाएका छन् ।

मतगणनाका क्रममा नेपाली काङ्ग्रेस र राजपा नेपालका कार्यकर्ताबिच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको राससले जनाएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच विवाद भएपछि मतदान रोकिएको हो ।

प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बलरामा असोज ३ गते बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि विपीन गौतमका अनुसार रौतहटको बृन्दावन नगरपालिकाको मतगणनास्थलमा नेकपा एमालेका सांसद रामकुमार भट्टराईमाथि काङ्ग्रेस र माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गरेपछि झडप भएको थियो ।

मुचुल्कामा लेखिएका भन्दा बढी मतपत्र देखिएपछि पुनः मतगणना गर्नुपर्ने एमालेका मेयरका उम्मेदवार विनोद पटेलले अडान राखेपछि मतगणनास्थल भित्र विवाद भएको जनाइएको छ । त्यसपछि विवाद मिलाउन गएका साँसद भट्टराईलाई माओवादी र काङ्ग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको जनाइएको छ ।

अनलाइन डेस्क