Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

१ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता कायम

काठमाडौँ । ०७४ असोज १७ गते

आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा असोज १७ गते बसेको बैठकले उक्त निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बैठकले स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार पुरुष मतदाताको सङ्ख्या ७७ लाख ७६ हजार ४ सय ९६ छ भने महिला मतदाताको सङ्ख्या ७६ लाख ५१ हजार ६५ रहेको छ ।

त्यसैगरी, तेस्रोलिङ्गी मतदाताको सङ्ख्या १ सय ७० रहेको आयोगले जनाएको छ । स्वीकृत मतदाता नामावलीअनुसार, प्रदेश १ मा २९ लाख ९३ हजार ६ सय ६९, प्रदेश २ मा २७ लाख ६७ हजार ३ सय ६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४ सय १२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८ सय २९, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ४८, प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ३३ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७१ मतदाता छन् ।

डोल्पा जिल्ल्लाका काइके र छार्का ताङसोङ गाउँपालिकाका २ सय ४० मतदाताको स्पष्ट विवरण प्राविधिक कारणवश यकिन हुन नसकेको जनाउँदै आयोगले सम्बन्धित जिल्लाबाट त्यससम्बन्धी विवरण प्राप्त भएपछि मतदाता नामावलीमा समावेश गरिने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेको दिन अर्थात् भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम उक्त मतदाता नामावलीमा समावेश गरिएको छ ।

मतदाता नामावली ऐन, २०७३ ले व्यवस्था गरेअनुसार निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नसकिने भएको हुँदा अब नयाँ नाम दर्ता नहुने र ठाउँसारी पनि नहुने व्यवस्था रहेको प्रवक्ता ढकालले जानकारी दिए ।

अनलाइन डेस्क